अपमानजनक अन्त्यको बोझ बोके ट्रम्पले अमेरिकामा

0
Quantam abroad studies

माघ ५, लोकनारायण सुबेदी ।

यही २० जनवरीका दिन अमेरिकामामा जो बाइडेन र कमला ह्यारिसको नयाँ प्रशासनले देशको नयाँ कार्यभार ग्रहण गर्दैछ । तर त्यस दिनको महत्वपूर्ण समारोहमा निबर्तमान हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले भाग लिने छैनन् । त्यसो भए तापनि अमेरिका को नयाँ प्रशासन र अमेरिकाको राजनीतिमा डोनाल्ड ट्रम्प र उनको राजनीतिक धाराको छायाँ भने आगामी लामो समय सम्म पर्ने देखिन्छ ।

यद्यपि नयाँ राष्ट्रपतिका सामुमा एउटा के बिकल्प रहेको थियो भने पुराना कुराहरु सबै बिर्सेर उनले देशको राजनीतिक तथा सामाजिक जीवनमा नयाँ अध्यायको आरम्भ गर्न सक्छन् । तर अब उनले यो अवसर गुमाएका छन् । नयाँ प्रशासन तथा डेमोक्रेटिक पार्टीले हालैका पछिल्ला दिनहरुमा राष्ट्रपति ट्रम्प का उत्ताउला र गम्भीर प्रकृतिका अप्रत्याशित गतिबिधिहरुप्रति जस्तो रबैया अपनायो र कदमहरु उठायो ती कदमहरु बास्तब मा ट्रम्प केन्द्रित रहेका छन् ।

यस क्रममा ट्रम्पका बिरुद्ध महाअभियोग मात्रै लगाइएको छैन अदृष्य सत्ता प्रतिष्ठानमा ट्रम्प र उनका समर्थकहरुका हर्कतका बिरुद्ध संघर्षकै घोषणा समेत गरिएको छ । किनभने ६ जनवरी का दिन अमेरिकी संसद भवन क्यापिटल हिलमा ट्रम्प समर्थकहरुको अप्रत्याशित र हिसक हमला लाई न्यूयोर्कको युगल गगनचुम्बी भवन (ट्वीन टावर) मा गरिएको हमला जस्तै हमला मानेर तुलना गरिएका छ । ट्रम्पलाई पनि त्यस्तै खलनायक घोषणा गर्ने कोशिश गरिएको छ जस्तो ओसामा बीन लादेनलाई घोषणा गरिएको थियो । ट्रम्पलाई नश्लबादी तथा फाँसीवादी र उनका समर्थहरुलाई घरेलु आतंकबादीको संज्ञा दिइएको छ । अमेरिकाको राजनीतिक इतिहासमा यस्तो घटना पहिलो पटक भएको छ जतिबेला कुनै निबर्तमान हुन लागेका राष्ट्रपतिका बिरुद्ध यत्तिको गम्भीर दुर्भाग्य पूर्ण र अपमानजनक शब्दहरु को प्रयोग गरिएको मानिदै छ । के भनिदै छ भने यतिबेला डेमोक्रेटिक पार्टीका नेताहरुले ट्रम्पले पाएको करीब साढे सात करोड जनता को मत लाई पनि बिर्सेका छन् । ती मतदातामध्ये अहिले पनि शायद अधिकांश नै मतदाता ट्रम्प समर्थकै रहेका होलान् । ट्रम्प समर्थक रिपब्लिकन पार्टीमा पनि अहिले सम्म बहुमत ट्रम्पकै साथमा रहेको देखिन्छ । स्वभावत आफ्नो कार्यकाल सकिएर बाहिरिन लागेका राष्ट्रपति ट्रम्प बिरुद्ध महाअभियोगको कारबाही तथा बिरोध अभियान को के औचित्य रहेको छ भन्ने प्रश्न पनि एकथरीले उठाएका छन् । यो प्रश्न केवल अमेरिका मा मात्र होइन , बिश्वमा र खाशगरी अमेरिकाका मित्र देशहरुमा नै पनि यतिबेला एउटा चर्चाको बिषय बन्न पुगेको छ ।

अहिले अमेकिरामा त्यस बिरोध अभियानले ट्रम्पको भावी राजनीतिक जीवनमा बिराम लगाइदेला कि उनलाई पुनर्जीबन देला यो प्रश्न उठेको छ र यसको उत्तर भबिष्यको गर्भमा छ। तर अहिले के देखिदैछ भने डेमोक्रेटि पार्टी ट्रम्पलाई मात्रै होइन, उनको बिचारधारालाई पनि निर्मूलै गर्ने हिसाब किताबले लाग्न थालेको जस्तो छ । यद्यपि परम्परागत अर्थमा ट्रम्पको कुनै राजनीतिक बिचारधारा छैन । तर पनि उनका सोच र नीतिहरु लाई ‘ट्रम्पबाद’ को संज्ञा दिन थालिएको छ । यो ट्रम्पबाद ‘राष्ट्रबादी तथा नश्लीय प्रबृत्तिको बिरचारधारा’ हो जसले घरेलु मुद्दाहरुमा बढी जोड दिन्छ र बहुसंख्यक अमेरिकी समाज तथा त्यसको सभ्यता तथा सँस्कृतिलाई सर्बोपरी मान्दछ र यसरी ‘अमेरिका पहिलो’ भन्ने कुरालाई अघि सार्दछ। यसमा अमेरिकी समाजका अन्य तप्का र तहसँग के अपेक्षा गरिन्छ भने अमेरिकाको श्वेत, प्रोटेस्टेण्ट सँसकृति, आचार–ब्यबहार र तिनका हितहरुप्रति अरुअरुले खाशगरी कालाहरुले सामञ्जस्य राखुन्। यस्तो चरित्रको‘ट्रम्पबाद’ यूरोपका बिभिन्न देशहरुमा पनि प्रकट भएको देख्न सकिन्छ । पश्चिमा देशहरु र भारतका एकथरी बाम – उदार मानिने बुद्धिजीबीहरु ले समेत भारतको नरेन्द्र मोदी सरकारलाई पनि यस्तै ट्रम्प प्रबृत्तिकै एउटा संस्करण मान्ने र भन्ने गर्दै आएका छन् ।

हुन पनि अहिले अमेरिकामा डेमोक्रेटिक पार्टी र ट्रम्पका बिरोधीहरुले कुन तथ्यलाई बेवास्ता गरिरहेको देखिन्छ भने यो ‘ट्रम्पबाद’ केवल ट्रम्पको कुनै ब्यक्तिगत आबिष्कार होइन । बरु के हो भने पछिल्लो पूँजीवादी भूमण्डलीकरण पछि बिश्वमा जुन राजनीतिक र आर्थिक परिबर्तन बिकसित भएर आएको देखियो त्यसका बिरुद्ध एउटा प्रतिकृयाको रुपमा यो ‘ट्रम्पबाद’ को उदय भएको हो। बितेका दुई दशकयताको कालखण्डमा अमेरिकी प्रशासन ले बिश्वमा आएको परिबर्तन का कारण अमेरिकी जनता माथि पर्न लागेको प्रभाबको न त समुचित आकलन गर्न खोजेका देखियो न त त्यस्तो स्थितिको सामना गर्नसक्ने सामयिक र आबश्यक नीति नै बनाएको पाइयो । हुन पनि यो काल खण्डमा बिश्वका बिकसित देशहरुमा अमेरिका नै एउटा यस्तो अपबादको देश बन्न पुग्यो जहाँ दुई दशकयता त्यो समाजको सबै भन्दा तल्लो तहको दस प्रतिशत जन समुदाय को आर्थिक स्थिति अत्याधिक खस्केर एकदमै नाजुक बन्न पुग्यो । यसका अतिरिक्त बिदेश नीतिको मोर्चामा पनि अन्य देशहरुमा सत्ता परिबर्तन र तिनका नीतिहरुका कारण अमेरिका माथि आर्थिक तथा सैनिक नोक्सानीको जुन बोझ बढ्न गयो त्यो पनि निकै चर्को र असैह्यसाबित हुन पुग्यो ।

यस्तै आर्थिक तथा सामाजिक बन्दै गरेको अबस्थामा अमेरिका मा ट्रम्पको उदय भयो र ‘ट्रम्पबाद’ ले एक किसिमको आकार ग्रहण गर्नपुग्यो । यद्यपि यस पूरै घटनावलीलाई फासीबाद, नश्लबाद र श्वेत बर्चश्वाद भनेर खारेज गर्न सकिन्छ। तर यो प्रबृत्ती किन र कसरी आयो त्यसको समग्र ब्याख्या, बिश्लेषण नगरी उही समस्या अलिक भिन्नरुप मा अर्को संस्करण मा दोहोरिने क्रम नै फेरि पनि रहि रहन्छ । यस स्थितिले अन्ततः एउटा अग्रगामी, सुनिश्चित र समुन्नत उच्च मानबीय बिकल्प नै खोज्दछ । टालेटुले सुधारका कुरा गरेर आजको समाज ले नबीन सँँस्करणका यथास्थितिको बन्धक बन्न चाहँदैन । बरु प्रकृति र मानब समाजको निर्मम दोहनबाट उत्पन्न गरिएका सबै किसिमका प्रकृति–अमैत्री र मानब–द्वेषी स्थिति बाट मुक्त नबीन समाजको माग गर्दछ ।

Leave A Reply

Your email address will not be published.