स्वाधीनता, जनतन्त्र र समुन्नति नै नयाँ जनबादी शिक्षाकाे सार 

-लोकनाराण सुबेदी
हाम्रो शिक्षा क्षेत्र पनि अरु अरु क्षेत्रहरु जस्तै अराजक , अबाञ्छित र अस्वस्थकर राजनीतिको नराम्ररी शिकार भएको र हुँदै आएको छ । यसमा राजनीतिक भागबण्डाको प्रभाव यति प्रवल छ कि शिक्षा क्षेत्र अस्तब्यस्त भइसक्दा पनि सबै रमिते जस्तो भएर बसेका छन् । भत्के बिग्रेको कुरामा कसैको कुनै चासो, चिन्ता र चर्चासम्म पनि छैन । यदा कदा कतै अन्धकारमा जुनकिरी चम्किए जस्तै चिकित्सा शिक्षा क्षेत्रमा डा. गोबिन्द केसी जस्ता एक दुइ जनाले दुर्लभ र बिरलै कुरा उठाउँदछन्, संघर्ष गर्दछन् । राज्यले सम्झौता गर्छ र प्रतिबद्धता जाहेर गर्दछ । तर पूरा गर्दैन र ती चिकित्सकलाई पटक पटक संघर्षमा होम्न बरु बतावरण बनाउदछ र लाज पचाउँदछ । यस्तो अबस्थमा हाम्रो शिक्षा नीति के कस्तो हुने भन्ने बिषयमा बिचार बिमर्श गर्नु जरुरी भएको छ ।

वास्तवमा शिक्षा बिकासको पूर्वाधार मात्रै होइन, यो बिकासलाई ब्यापक मद्दत पु¥याउन सक्ने बिस्तृत सरोकार राख्ने र रहेको महत्वपूर्ण क्षेत्र हो । किनभने मानिस बहु आयामिक प्राणी भएकोले त्यसलाई प्रस्फुटन गराउने, जगाउने, उठाउने र अघि बढाउने शिक्षा नीति हुनु स्वभाविक र आवश्यक हुन्छ, हुनु पर्दछ । तर यो कुरामा कुनै गम्भीर ध्यान दिएको पाइदैन। अनेक प्रायोजित प्रयोग नै हाम्रो शिक्षा क्षेत्रको नियति हुँदै आएकोले गर्दा नै ब्यापक सम्भावना भएर पनि यो क्षेत्रले राष्ट्रिय बिकासलाई अपेक्षित सहयोग पु¥याउन सकिरेको छैन । नेपाल पछाडि पर्नुको एउटा सबैभन्दा मूल कारण यही नै हो ।

अबाञ्छित राजनीतिक हस्तक्षेपको कुरालाई अलग्गै राखेर हेर्ने हो भने पनि हाम्रो शिक्षाले अधिकांशतः बौद्धिक कृयाकलमा जोडदिन खोजेको पाइन्छ र यो समाजवाट कटिएर एकांगी बनिरहेको देखिन्छ । मानिस केवल बुद्धिजीवी मात्र नभएर यस्तो सामाजिक प्राणी हो जसमा बुद्धिसँगसँगै भावनाहरु पनि हुन्छन् । यसकासाथै मानिस एउटा भौतिक–शारिरीक रचना पनि भएकोले उसका आफ्ना आवश्यकता र कार्यहरु पनि हुन्छन् नै । शिक्षालाई सार्थक दिशा दिने हो भने यी तीनै क्षेत्रलाई सम्बोधन गरिनै पर्दछ । हुन पनि ज्ञान, भाव र कर्म यी तीनवटै कुरा मिलेरनै मानिसको ब्यवहारिक संसारको रचना बन्दछ । कुनै ब्यक्तिको सुन्दर जीवनको कल्पना यी तीन कुराको सन्तुलनबाट मात्र साकार हुन सक्तछ । मानिसको मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य र शारिरीक स्वास्थ्य तीनै कुरा जतिबेला सन्तोषप्रद हुन्छन् त्यतिबेला मात्र उसको ठिक किसिमले बिकास हुन सक्तछ । तर हाम्रो आजको शिक्षा ज्ञान बिज्ञानको परिवर्तित सन्दर्भबाट पनि काटिएको र समाजसँग पनि नजोडिएको बौद्धिक बिलासको टापु जस्तो छ । त्यसमाथि छाडा राजनीतिक हस्तक्षेपले यसलाई अझ बिकृत र हास्यास्पद बनाएको छ । बौद्धिक भाटहरुको रजाइ चलाउने जस्तो स्थिति निर्माण भएको छ । त्यसैले हाम्रो शिक्षा रटन्ताम, घोकन्ताममा चलेको छ । पास हुने र पलायन हुने नै यसको सीमा बनेको छ । पाठ्यक्रम, अध्यापन र परीक्षा समानान्तर सबै यसै कसरतमा अभ्यस्त छन् र त्यसैलाई शैक्षिक पराक्रम ठान्दछन् । त्यसैले हाम्रो शिक्षा पद्धतिमा अपवादलाई छाडेर सिर्जनात्मकताको कुनै गुञ्जायश रहेको पाइदैन । फलत देशमा शैक्षिक बेरोजगारी बढ्दो संख्यामा पाइन्छ र बिदेश पलायन शैक्षिक बेरोजगारहरुको नियति बनेको छ ।

त्यसले गर्दा आजको खालि समय बिभिन्न उपलब्ध उपकरणका कारण अवसरको समय बन्दै गएको छ । यसको सोझो असर ब्यक्तिको उपलब्ध समयको मात्रा र त्यसको बितरणमा परिरहेको छ । आज खालि समयमा मानिसहरु बिडियो गेम, आइप्याड, इण्टरनेट च्याटिङ्ग तथा यस्तै अन्य काममा लगाइरहेको पाइन्छ । यसो गरिरहँदा हामीले एउटा प्रति यथार्थ(काउण्टर रियालिटी) खडा गरिरहेका हुन्छौं जसको कुनै आदि अन्त्य हुँदैन । आज त सबैजसो कार्यहरु इ–आधारमा ‘अनलाईन’ हुन थालेका छन् । वास्तवमा एउटा कृत्रिम जस्तो संसारको रचना हुँदै गएको छ । यसरी बिज्ञान र प्रबिधिको बिकासको कारणले एउटा नयाँ बिश्व बिकसित हुदै गएको छ, तीब्र बेगले सञ्चालित प्रचुर मात्रामा सूचनाहरुको प्रवाहमा यो नयाँ बिश्व निर्भर छ । के स्मरणीय छ भने बिभिन्न शहरहरुमा डिजिटल संसारसँग अब बाल बच्चाको सम्वन्ध शिघ्र स्थापित हुन थालेको छ । बिद्यालय जानुभन्दा पहिला लेख्न नजाने पनि बाल बच्चाले धेरै ज्ञान आर्जित गरिसकेको हुन्छ । अनुभव तथा शब्द ज्ञानको दृष्टि बाल बच्चाहरु अब बढी परिपक्क हुन थालेका छन् । उनीहरुको तयारी र अपेक्षाहरु पनि पहिलाका तुलनामा भिन्न छन् । सिक्ने शैली पनि बद्लिदै गएको छ । यो एउटा ठूलो परिबर्तन हो तर यसका लागि हाम्रो अधिंकाश शिक्षा क्षेत्र न्यूनतमरुपमा पनि तयार देखिदैन ।

यसैसँग जोडिएको प्रश्न छ शिक्षाको भार तर यसप्रति कसैको चासो प्रष्टरुपमा देखिएको पनि छैन र कुनै कदम उठाउने संकेत पनि पाइदैन । शिक्षालाई बुद्धि, भावन र कर्म यी तीन मूख्य तत्वको सन्तुलित बिकासकोरुपमा लिइने स्थिति बन्दैन र केवल समाजका अन्य कृयाकलापसँग काटिएको बुद्धि तत्वमा मात्र जोड दिने र त्यसैलाई सर्बश्व मानिने स्थिति रहिरहने हो भने त्यो देश र जनताका लागि बोझ र नोक्सानकारी ठहरिन्छ । आज हामीलाई शिक्षा प्राप्तिको क्रममा यस्ता नागरिकहरुको निर्माण गर्नु परेको छ जो समाज निकट हुन् र त्यसका लागि केही योगदान गर्न उद्यत रहुन् । के पनि सोच्न अत्याबश्यक छ भने मानिसको आन्तरिक क्षमतामा ठूलो बैबिध्यता रहेको हुन्छ । त्यसले गर्दा नै मानिसले एक वा अर्को क्षेत्रमा सफलता हासिल गर्ने सम्भावना नित्य निरन्तर रहिरहेको हुन्छ । आज शिक्षा नीतिलाई सही दिशा दिने हो भने यो मान्यतालाई आधार मानेर मानिसको योग्यता र सामर्थ्य आजको यो यथार्थलाई बुझेर र स्वीकार गरेर नीति बनाइनु पर्दछ । अब कुनै एउटा बुद्धिको कुरा मात्र होइन बहु बुद्धिको कुरा गरिनु पर्दछ ।

यस ब्यापक बिबिधतलाई दृष्टिगत गरेर कृषि, उद्योग, बन्द–ब्यापार जस्ता आधारभूत क्षेत्रलाई बैज्ञानिक आधार प्रदान गर्ने र बिकसित तुल्याउने जलश्रोत लगायत ऊर्जाका श्रोत साधन, सीपको राष्ट्रिय हितमा सदुपयोगको ज्ञान, बिज्ञानमा केन्द्रित हुनु नितान्त जरुरी छ । यसरी समाजका असमाता, बिभेद र असहजताको अन्त्य गर्ने र समानता, सहजता र सरलताका साथ आम जनताको जीवन यापन गर्न सक्ने बातावरण बनाउन हाम्रा शिक्षा जन केन्द्रित र बिकास आधारित हुनु पर्दछ । यही नै जनवादी शिक्षाको सार तत्व पनि हो । त्यसैले आजका बिद्यार्थीहरुले ‘बैज्ञानिक शिक्षाको निम्ति लडाई र सामाजिक परिवर्तनका निम्ति पढाईको संघर्षलाई आत्मसात गरेर यसलाई अघि बढाउन उद्यत हुनु पर्दछ । यस धरातलबाट काटिएको वा अलग्गिएको शिक्षाले हाम्रो समाज र राष्ट्रलाई सही दिशा र गतिमा आजको राष्ट्रिय आवश्यकता अनुसार अघि बढाउन सक्तैन । आजसम्मको अनुभवले पनि यो कुरा प्रष्ट पारिसकेको छ । शिक्षामा माफियाकरण,ब्यापारीकरण लगायतका ब्याप्त बिसंगतिहरुको अन्त्य हुनुपर्दछ भन्ने माग उठ्नुको कारण पनि वास्तवमा यही नै हो ।

यस्ता बिसंगतिहरुको अन्त्य नगरिएसम्म देशको स्वाधीनता, आत्मनिर्भरता, राष्ट्रिय बिकास र समुन्नत नेपालको आधारहीन गुड्डी हाँक्ने कुरामै देश पिछडिएको अधोगामी अबस्थामा रहिरहने कुरा निश्चित छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.