आठ जनाका हत्या आरोपित नसिमलाई छुटाउने चलखेल मुद्दामाथि सुनुवाइ चल्‍दै , सोमबार फैसलाको तयारी

0
Quantam abroad studies

बुटवल – आठ हत्या, एक ज्यान मार्ने उद्योग र २ डाका चोरी मुद्दाका आरोपी नसिम खाँबारे आइतबारदेखि कपिलवस्तु जिल्ला अदालतमा अन्तिम बहस चल्दै छ । सोमबार सम्म टुंगिने र सम्भवतः सोमबार नै फैसला आउने उक्त मुद्दामा जिल्लाबासी मात्र होइन सिंगो लुम्बिनी प्रदेशकै चासो देखिन्छ । आइतबार खाँनविरुद्धका ७ हत्या तथा अपहरण र लुटपाट मुद्दामा बहस चलेको अधिकवक्ता वृजेन्द्र चौधरीले बताए ।

२ नम्बर इजलाशमा जारी उक्त मुद्दाको सुनुवाई न्यायाधीश जवाहर प्रसाद सिंहले गर्दैछन्। अदालत परिसर क्षेत्रभरि आइतबार फैसला प्रभावित पार्ने र प्रभावित पार्न नदिने समूहको व्यापक चलखेल तथा उपस्थिति थियो ।

२ बालबालिका, ४ माओवादी निकट कार्यकर्ता र १ कर्मचारी हत्या आरोपी खाँलाई २ वर्षअघि मात्रै प्रहरीले काठमाडाैँबाट सीआईबीको सहयोगमा पक्राउ गरेको थियो । त्यसपछि उनीमाथि आरोप लागेका मुद्दाको सुनुवाइ चल्दै आएको छ ।

को हुन् खाँ र के छ आरोप ?
माओवादी सशस्त्र द्वन्द्वका क्रममा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका नाइके खाँले त्यस क्रममा थुप्रै माओवादीको हत्या गरेका थिए । त्यस आरोपबाट बच्न उनी २०६३ साल जेठमा जनतान्त्रिक तराई मुक्ति मोर्चा भन्ने भूमिगत समूहमा आबद्ध भए । त्यस लगत्तै उनले हत्या, अपहरण, लुटपाट लगायतका घटनामा संलग्न भएको अदालतमा पेस गरिएका प्रहरी प्रतिवेदनहरुमा उल्लेख छ ।

२०७२ सालमा एमालेको सदस्यता लिएका खाँलाई खुसी बनाउन एमालेले उनकी श्रीमती फौजिया खाँलाई २०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सांसद बनाएको थियो । कपिलवस्तुको सीमा पारीको भारतीय भूमि प्रयोग गरी नेपालमा अपराधिक गतिविधि गर्दै उनले चन्दा आतंक, हात-हतियार बेचविखन, अपहरण तथा कन्ट्रयाकमा हत्या गर्नेसम्मका काम गर्न थाले । खाँले माओवादी जिल्ला सदस्य प्रेम परियार (भुवन) को २०६३ साल फागुनमा गोली हानी हत्या गरेका थिए । त्यसै गरी खाँको समूहले २०६३ फागुन १ गते इलैचा बरईको फुलिका स्थित घरमा आक्रमण गरी उनकी ४ वर्षीया छोरीको हत्या तथा लुटपाट गरेको मुद्दा जाहेरी अदालतमा छ । लगत्तै उनले २०६४ मंसिर २५ गते तत्कालिन जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरन्जन पौडेलको अपहरण गरे ।

करिब ४ लाख फिरौती लिएर ८ दिन पछि छाडेका थिए । चन्दा दिन नमानेको भन्दै तत्कालिन गाविस सचिव राममिलन गुप्तालाई खाँ र उनका सहयोगी श्रवण मुराउले २०६५ साल भदौँमा पिपरा गाविसमै गोली हानी हत्या गरेका थिए । खाँको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमानमाथि आक्रमण गर्दा स्थानीय सर्वसाधारण अकाली कोहारलाई गोली लाग्यो र उनको मृत्यु भयो ।

नसिबुल्लाह मुसलमानमाथि हत्या प्रयास गरेको भन्दै खाँलाई ज्यान मार्ने उद्योगको अर्को मुद्दा छ । लगत्तै फुलिकाका माओवादी अवध राज्यका प्रभावशाली युवा नेता राजेन्द्र तिवारीलाई उनकै योजनामा २०६७ वैशाख १३ गते पिपरा गाविसमै गोली हानी हत्या गरियो । हत्याको श्रङ्खला बढे पनि पक्राउ नपरेका उनको समूहलाई राजेन्द्र तिवारीको हत्या प्रकरणपछि प्रहरीलाई पक्राउ गर्न ठूलो दबाब आयो ।

तत्कालिन प्रहरी प्रमुख शरद चन्दले जेल बाट भागेका श्रवण मुराउ र उनको खोजी तीव्र पारे । भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिए पनि खाँ भने बच्न सफल भए । खाँ समूहले पुनः पुरुषोत्तमपुर ५ मा रहेको शिवम क्रेशरको मजदुर ज्ञान बहादुर सुनारलाई २०६७ अषाढ २३ गते गोली हानी हत्या गरे । सुनारको हत्या आफैँले गरेकोे विज्ञप्ति खाँले खुलाएका छन् । लगत्तै उनी पुन: भारतको चाकरचौडा क्षेत्रमा बसेर अपराधिक गतिविधी सञ्चालन गरिरहेका थिए । यसबीच उनले २०७५ फागुन ४ गते मायादेवी गाउपालिका ४ का वडा अध्यक्ष फत्ते मोहम्मदको ४ वर्षीया बालक अयमानको अपहरण गरी ८ गते हत्या गरेको थिए । बालकको शव उनकै घर अगाडि फ्याकिएको थियो ।

कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा हत्याको ६ वटा मुद्दा र एउटा डाँका मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको छ । माथिका घटना अनुसन्धान गरेको प्रहरीको हरेक प्रतिवेदनमा खाँको संलग्नता र खाँ नै हत्या योजनाकार भएको मिसिलहरुमा उल्लेख छ । उनका हरेक हत्यामा सहयोगी श्रवण मुराउलाई अदालतले भने यस अघि नै १ सय १७ बर्षको कैद सजाय तोकी हाल कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।

राजनितिक तथा आर्थिक चलखेल चलेको र खाँसहित उक्त घटनामा रहेका अन्यहरुलाई पनि छाड्ने योजनाअनुसार सेलाएको मुद्दा एकाएक सक्रिय भएको पीडित परिवारको आरोप छ । मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनितिक र आर्थिक चलखेलका कारण खाँ र यस घटनामा प्रत्यक्ष संलग्नहरुलाई छाड्ने हल्ला बाहिर आएको बताए ।

“हामी न्याय चाहन्छौ, सिंगो जिल्लालाई खाँको अपराध बारे थाहा छ, प्रमाण छ अब पनि न्याय मर्यो भने हामी पिडितको के लाग्छ” उनले भने । यता आरोपी खाँले आफू सशस्त्र भूमिगत समूहमा आबद्ध हुदा भएको राजनितिक घटना भएकाले यसलाई सरकार र विद्रोही पक्षको सहमतिअनुसार लिनुपर्ने जिकिर गर्छन् । अदालतमा बयान दिने क्रममा उनले सबै आरोपमा आफुलाई जर्बजस्ती फसाइएको दाबी गरेका छन् । साभार : इ कागज अनलाइन

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.