
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्ने व्यक्तिहरूलाई अघिल्लो पार्टीमा रहँदा पाएको जिम्मेवारी र पदलाई निरन्तरता दिने नीति अख्तियार गरेको छ। वाम एकता र ध्रुवीकरणलाई आवश्यक ठहर गर्दै वाम घटकहरूसँग एकता गर्ने नीतिमा अघि बढेको माओवादीले पार्टी प्रवेश गर्नेहरूलाई जिम्मेवारी निर्धारण गर्दा लचिलो र खुला दृष्टिकोण अपनाएको हो।

पार्टीका एक स्थायी कमिटी सदस्यका अनुसार, साङ्गठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनी आएका गुनासोलाई सम्बोधन गर्न यो नयाँ नीति लागू गरिएको हो। यो नीतिअनुसार, पार्टी प्रवेश गर्ने व्यक्तिहरूलाई उनीहरू अघिल्लो पार्टीमा रहेकै पदअनुसार जिम्मेवारी दिइनेछ। यस सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङको हस्ताक्षरयुक्त सर्कुलर मातहतका सबै कमिटीहरूमा पठाइसकिएको जानकारी ती नेताले दिएका छन्।
पार्टीले वाम एकता र सुदृढ संगठनको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ पार्टी प्रवेश गर्नेहरूको अनुभव, क्षमता र पूर्व जिम्मेवारीको सम्मान गर्नुपर्ने निष्कर्ष निकालेको छ। यो निर्णयले संगठनको आन्तरिक व्यवस्थापनलाई सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। साथै, यसले पार्टी प्रवेशका क्रममा देखिने असन्तुष्टिलाई कम गर्ने अपेक्षा पनि गरिएको छ।
