
अमेरिकाले रसनेफ्ट र लुकोयलजस्ता रूसका ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि रूसले भारतमाथि तेल व्यापार टिकाइराख्न नयाँ कूटनीतिक पहल थालेको छ। ब्लूमबर्गका अनुसार रूसले भारतीय तेल प्रशोधन कम्पनीहरूलाई प्रति ब्यारेल ७ डलरसम्म छुट दिने प्रस्ताव राखेको छ, जुन पछिल्ला दुई वर्षकै सबैभन्दा ठूलो छुट हो।
यसअघि भारतले रूसी कच्चा तेलमा अधिकतम तीन डलरसम्म छुट पाउँदै आएको थियो। तर प्रतिबन्धपछि धेरै भारतीय रिफाइनरीले रूसी तेल अर्डर स्थगित गरेपछि रूसले छुट बढाएको बताइन्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल किनिरहेकाले भारतमाथि कडा भन्सार शुल्क लगाए पनि भारत सस्तो मूल्यका कारण रूसी तेलको प्रमुख ग्राहक बनेको छ। युक्रेन युद्ध सुरू भएपछिको कालखण्डमा भारतले रूसी तेल आयात असाधारण रूपमा बढाएको छ।

यस सस्तो तेलको सबैभन्दा ठूलो लाभ मुकेश अम्बानीको रिलायन्स इण्डस्ट्रिज र रूसको लगानी रहेको नायरा एनर्जी ले उठाउँदै आएको भारतीय व्यवसायिक पत्रिका द बिजनेस स्ट्यान्डर्ड ले उल्लेख गरेको छ।
