
नेपालको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म २७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल देशीय उत्पादन (जीडीपी)को झन्डै ४५ प्रतिशत बराबर हुन्छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ छ।
गत असारदेखि कात्तिकसम्म मात्र सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले थपिएको छ। असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो। कात्तिकसम्म तिर्न बाँकी ऋण पनि असोजको तुलनामा बढेको देखिएको छ। असोज मसान्तमा तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ थियो।
कार्यालयका अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ (जीडीपीको २०.८९ प्रतिशत) र बाह्य ऋण १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ (जीडीपीको २३.८० प्रतिशत) रहेको छ।

चार महिनाको अवधिमा १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ ऋण प्राप्ति भए पनि १ खर्ब ५० अर्ब ८८ करोड ऋण भुक्तानी भएको छ। यसले भुक्तानी दायित्व बढ्दो क्रममा रहेको संकेत गर्छ।
