
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) देखि रू. १०० दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोटहरू साविककै आकार र रंगमा रहेपनि सुरक्षा विशेषता थप आधुनिक बनाइएको राष्ट्र बैंकले जनाएको छ।
मुद्रा व्यवस्थापन विभागका अनुसार ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका संकेत नम्बरका नोट बजारमा पठाइएका छन्। यसअघि ०७६ असोज ७ मा नयाँ १०० का नोट ल्याइए पनि त्यसबेला घोषणा गरिएको संकेत नम्बरभन्दा कम मात्र चलनचल्तीमा आएको थियो।
नयाँ नोटका प्रमुख विशेषता

- अग्रभागमा सगरमाथा, लालीगुराँसको वाटरमार्क, नेपालको नक्सा, अशोक स्तम्भ, मायादेवीको सिल्भर मेटालिक चित्र।
- दृष्टिविहीनका लागि छामेर चिनिने उठेको थोप्लो।
- रंग परिवर्तन हुने सुरक्षा धागो (सिधा हेर्दा रातो, ढल्काउँदा हरियो)।
- तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर।
- तल्लो भागमा वि.सं. २०८१ उल्लेख।
पछाडि भागमा **एक सिंगे गैँडा (माउ र बच्चा)**को चित्र, NEPAL RASTRA BANK, र Series 2024 A.D. उल्लेख गरिएको छ।
