
काठमाडौं — १०औँ संस्करणको पुरुष टी–२० विश्वकप सुरु हुनै लाग्दा नेपालमा पनि क्रिकेटको उत्साह चुलिएको छ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने विश्वकपमा २० टोली चार समूहमा विभाजित छन्। लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन्।
समूह ‘सी’ मा विश्वविजेता दुई टोली इंग्ल्यान्ड र वेस्ट इन्डिज नेपालका ठूला चुनौती हुन्। दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग नेपाल पहिलो पटक आमनेसामने हुँदै माघ २५ मा विश्वकप यात्रा सुरु गर्नेछ। सन् २०१२ र २०१६ को विजेता वेस्ट इन्डिजसँग नेपालको भेट फागुन ३ मा हुनेछ।

पहिलो पटक विश्वकप खेल्न लागेको इटाली र भाग्यमानी रूपमा स्थान पाएको स्कटल्यान्ड पनि नेपालको समूहमा छन्। स्कटल्यान्डसँग नेपालले टी–२० मा दुई खेल खेलेको छ, जसमा दुवै टोलीले एक–एक जित बाँडेका छन्।
नेपालले माघ २९ मा इटाली र फागुन ५ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै समूह चरण पूरा गर्नेछ। विश्व क्रिकेटका शक्तिशाली टोलीबीच नेपालले कस्तो प्रदर्शन गर्छ भन्ने चासो बढ्दै गएको छ।
