
पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बन्दै जाँदा देशका पश्चिमी भेगमा मौसम बदली भएको छ। हिजोदेखि केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज उक्त प्रणाली पश्चिमका उच्च हिमाली र पहाडी क्षेत्रमा फैलिँदै जानेछ भने भोलि मध्य भेगसम्म असर पुग्ने सम्भावना छ। अघिल्लो हप्ताको तुलनामा प्रणाली कम बलियो भए पनि चिसो बढिसकेको पश्चिम नेपालमा मध्यमसम्म वर्षा र हिमपात गराउन सक्ने मौसमविद्को भनाइ छ।
यस प्रणालीको प्रभाव पश्चिमदेखि मध्य नेपालसम्म देखिन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमतीको माथिल्लो भागमा पनि केही असर पर्न सक्ने भए पनि तराई र मधेश प्रदेशमा प्रभाव कम रहने अनुमान गरिएको छ।

काठमाण्डौमा भोलि राति छिटपुट वर्षा हुन सक्नेछ। आज तराईका केही ठाउँमा हुस्सु–कुहिरो लागेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।
