महाशिवरात्रीका लागि सिँगारिँदै पशुपतिनाथ

0
Quantam abroad studies

काठमाडौँ — हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर परिसर यतिबेला झिलिमिली बनेको छ। मन्दिर क्षेत्रलाई आकर्षक ढंगले सजाएर सफा–सुन्दर पार्ने काम तीव्र गतिमा अघि बढाइएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबार मनाइने महाशिवरात्रीका अवसरमा लाखौँ भक्तजनलाई सहज र व्यवस्थित रूपमा दर्शन गराउने लक्ष्यसहित सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दर्शन व्यवस्थापन, सुरक्षाको प्रबन्ध, पानी तथा स्वास्थ्य सेवाजस्ता आधारभूत सुविधालाई प्राथमिकतामा राखेर काम भइरहेको कोषले जनाएको छ।

यसैबीच, शिवरात्री मनाउन देशका विभिन्न जिल्लाका साथै भारतबाट आएका साधुसन्तहरू पशुपति परिसरमा आइपुगेका छन्। शिवभक्त साधुहरूको उपस्थितिले क्षेत्र थप आध्यात्मिक र उत्साहपूर्ण बनेको छ। परम्पराअनुसार शिवरात्री सम्पन्न भएपछि ती साधुसन्तलाई दान–दक्षिणासहित सम्मानपूर्वक बिदाइ गरिनेछ।

sahani furniture udyog

महाशिवरात्रीका दिन स्वदेश तथा भारतका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने अनुमान गरिएको छ। पर्वकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला पनि लाग्ने भएकाले सुरक्षा र व्यवस्थापनमा विशेष सतर्कता अपनाइएको छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीमा देशभरका शिवालयहरूमा भक्तजनको अपार भीड लाग्ने परम्परा रहिआएको छ। यस वर्ष पनि पशुपतिनाथ क्षेत्रमा श्रद्धा, भक्ति र उत्सवको संगम झल्किने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.