
कपिलवस्तु — हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रीकाे अवसरमा तौलेश्वरनाथ शिवालय परिसरमा यतिबेला सजावट र सरसफाइको चटारोमा व्यस्त छ। मन्दिर क्षेत्रलाई झकिझकाउ बनाउने, रंगरोगन गर्ने तथा बत्ती सजावट गर्ने काम तीव्र पारिएको छ।
मन्दिर व्यवस्थापन समितिका अनुसार महाशिवरात्रीका दिन भक्तजनको ठूलो भीड लाग्ने भएकाले दर्शन व्यवस्थापन र सुरक्षाको विशेष तयारी गरिएको छ। स्थानीय युवाहरू तथा स्वयंसेवकहरू पनि तयारीमा सक्रिय रूपमा जुटेका छन्।
महाशिवरात्रीका अवसरमा विशेष पूजाआजा, रुद्राभिषेक तथा भजन–कीर्तन कार्यक्रम आयोजना गरिने जनाइएको छ। पर्वकै दिन बिहानैदेखि भक्तजनको लाइन लाग्ने परम्परा रहेकाले सहज दर्शनका लागि छुट्टाछुट्टै प्रवेश तथा निकास मार्गको व्यवस्था मिलाइँदैछ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रीमा शिवालयहरूमा श्रद्धालुहरूको अपार उपस्थिति रहने गर्छ। यस वर्ष तौलेश्वरनाथ शिवालयमा पनि भक्ति, आस्था र उल्लासको माहोल झनै बढ्ने अपेक्षा गरिएको छ।
