नेपालद्वारा म्यानमारका धार्मिक सम्पदाको पुनर्निर्माणमा ३ लाख ५० हजार डलर सहयोग

काठमाडौँ — नेपाल सरकारले भूकम्पबाट क्षतिग्रस्त म्यानमारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ। गएको मार्चमा आएको शक्तिशाली भूकम्पपछि पुनर्निर्माण सहयोगस्वरूप उक्त रकम उपलब्ध गराइएको हो।
म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरे ले महामुनी पगोडा परिसरमा आयोजित कार्यक्रममा पगोडाका महासचिव थान उलाई ३ लाख डलरको चेक हस्तान्तरण गरेका छन्।

त्यसैगरी, म्यानमारस्थित नेपाली समुदायको आस्थाको केन्द्र गङ्गाघाट हिन्दू मन्दिर पुनर्निर्माणका लागि ५० हजार डलर सहयोग प्रदान गरिएको छ। उक्त रकम मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरिएको याङ्गुनस्थित नेपाली दूतावासले जनाएको छ।
नेपाल सरकारको यो सहयोगले म्यानमारसँगको धार्मिक–सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन साथै त्यहाँको नेपाली समुदायलाई पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
