
काठमाडौँ । नेपालमा बेतोडमा बढ्दै गएको विद्युतीय सवारी साधन (ईभी) को आयातलाई नियमन गर्न सरकारले नयाँ मापदण्ड बनाउने तयारी गरेको छ।
वर्तमान अवस्थामा नेपालमा भित्रिने अधिकांश विद्युतीय गाडीहरू सर्भिस, चार्जिङ स्टेसन र स्पेयर पार्ट्सको अभावमा सञ्चालनमै कठिनाइ खेपिरहेका छन्। साथै, यी सवारी साधन नेपाली भूगोल र सडकको अवस्थासँग मेल नखाने भएका कारण उपभोक्तालाई समस्या परिरहेको छ।
सरकारले अहिले सम्म विद्युतीय सवारी साधनको गुणस्तर, सुरक्षा र नेपाली भूगोलसँगको अनुकूलताको कुनै वैज्ञानिक परीक्षण नगरेको भए पनि अब यसलाई व्यवस्थित गर्न कदम चालेको छ। गुणस्तरहीन तथा नेपालका भौगोलिक अवस्था अनुकूल नहुने सवारी आयातलाई रोक्न नयाँ मापदण्ड लागू गरिनेछ।

हालैका दिनहरूमा ईभी गाडीमा आगलागी हुने, ब्याट्रीमा समस्या देखिनेजस्ता घटनाहरू बढ्दै गएका छन्, जसले उपभोक्ताको सुरक्षा जोखिममा परेको छ। यस्ता समस्याहरूलाई सम्बोधन गर्दै सरकारले अब बिना नियमन आयात भइरहेको विद्युतीय सवारी साधनलाई व्यवस्थित गर्ने स्पष्ट संकेत गरेको छ।
