हिजाे आन्दाेलनका फोटो–भिडियो हेर्दै धमाधम पक्राउ गर्दै प्रहरी , अहिलेसम्म कति समातिए ?

0
Quantam abroad studies

काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादी समूहद्वारा गरिएको प्रदर्शन हिंसात्मक रूप लिएको घटनापछि प्रहरीले १०६ जनालाई नियन्त्रणमा लिएको छ। दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी तथा हत्याजस्ता आपराधिक गतिविधिहरू देखिएपछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं, मातहतका वृत्तहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयहरूबाट परिचालित सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट एक सयभन्दा बढीलाई पक्राउ गरेका छन्। प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका व्यक्तिहरूको वर्गीकरण गर्ने काम भइरहेको छ।

यसैक्रममा, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल लगायत केही प्रभावशाली व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। शनिबार ललितपुरबाट विवादास्पद धर्मगुरू पुष्कर खतिवडालाई पनि पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी रातभर नै जारी रहेको छ भने सामाजिक सञ्जालमा सार्वजनिक फोटो तथा भिडिओहरूको विश्लेषण गर्दै प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ।

sahani furniture udyog

प्रहरीका अनुसार, भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न केही व्यक्ति पक्राउ परिसकेका छन्। त्यहाँको सिसिटिभी फुटेजमा स्पष्ट रूपमा लुटपाटमा संलग्न केही महिला र बच्चाहरू समेत देखिएको हुँदा उनीहरूलाई पनि खोजी गरिरहेको बताइएको छ।

यसैबीच, आन्दोलनका मुख्य कमाण्डर मानिएका दुर्गा प्रसाईं भने अझै फरार छन्। प्रहरीका अनुसार, गएराति धर्मगुरू पुष्कर खतिवडासँगै रहेका प्रसाईं भाग्न सफल भएका थिए, तर खतिवडालाई भने पक्राउ गर्न प्रहरी सफल भएको छ।

प्रहरीले सिसिटिभी फुटेज, भिडिओ तथा फोटोहरूको सहायताले घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.