भारतमा एक हप्ता अघिनै मनसुन प्रवेश, नेपालमा पनि छिट्टै भित्रिने संकेत

0
Quantam abroad studies

काठमाडौं, जेठ १२ – भारतमा सामान्यभन्दा एक हप्ता अघिनै मनसुन प्रवेश गरेपछि नेपालमा पनि चाँडै मनसुन भित्रिने सम्भावना देखिएको छ।

भारतको केरलामा सामान्यतः जुन १ मा मनसुन सुरु हुने गरे पनि यस वर्ष मे २४ (जेठ १०) मै प्रवेश गरेको छ। यो सन् २००७ यताकै सबैभन्दा छिटो मनसुन हो, भारतीय मौसम विभागले जनाएको छ। यससँगै दिल्लीसहित विभिन्न भागमा भारी वर्षा भएको छ, र मौसम विभागले मे २४ देखि २६ सम्म अझै भारी वर्षाको चेतावनी जारी गरेको छ।

नेपालको जल तथा मौसम विज्ञान विभागले भारतमा मनसुन सुरु भएको दस–पन्ध्र दिनभित्र नेपालमा समेत यसको प्रभाव देखिन थाल्ने बताएको छ। वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार, “अहिलेको जलवाष्पयुक्त हावाको गति हेर्दा नेपालमा पनि मनसुन ढिलो नहुन सक्छ।”

तर उनले अहिल्यै मिति तोक्न सकिने अवस्था भने नरहेको बताए। बंगालको खाडी हुँदै आउने मनसुनी वायुले नेपालमा प्रभाव जमाउन पश्चिमी वायुलाई विस्थापित गर्नुपर्ने हुन्छ। हाल नेपालमा अझै पश्चिमी वायु र स्थानीय प्रणाली सक्रिय छन्।

sahani furniture udyog

यसको आंशिक प्रभावस्वरूप पछिल्ला दिनहरूमा देशका विभिन्न भागमा दैनिकजसो वर्षा भइरहेको छ। आज (शनिबार) पनि काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

नेपालमा सामान्यतया १३ जुनमा मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्दछ। मनसुनको गति नियमित भएमा करीब ११२ दिनसम्म वर्षा हुने गर्दछ।

विभागका अनुसार यो वर्ष मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी रहने सम्भावना छ। पानी धेरै परेमा बाढी, पहिरो र जनधनको क्षति हुने जोखिम बढ्ने भएकाले पूर्वसतर्कता अपनाउन सुझाव दिइएको छ।


📌 स्रोत: जल तथा मौसम विज्ञान विभाग / भारतीय मौसम विभाग

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.