
नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। आइतबार सम्पन्न हङकङ सिक्सेस प्रतियोगिताको अन्तिम खेलपछि उनले आफ्नो लामो क्रिकेट यात्रा समाप्त गरेका हुन्।
हङकङ सिक्सेसमा नेपालका कप्तानका रूपमा मैदानमा उत्रिएका भेषावकरले यूएईविरुद्धको अन्तिम खेलपछि सन्यास लिएका हुन्। उक्त खेलमा नेपाल यूएईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपमार्फत अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेका शरद नेपाली क्रिकेट इतिहासका साक्षी मात्रै होइन, मूक शक्तिका रूपमा चिनिन्छन्। नेपालले विश्व क्रिकेट लिग डिभिजन–५ बाट एकदिवसीय मान्यता प्राप्त देश बन्ने यात्रामा उनी महत्वपूर्ण योगदानकर्ता बनेका थिए।

शरद नेपालका पहिलो प्रथम श्रेणी (Three-Day) खेल, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) र पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय (T20I) टोलीका सदस्य समेत हुन्। दुई दशक लामो आफ्नो क्रिकेट जीवनमा उनले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन उल्लेखनीय भूमिका खेलेका छन्।
उनको बिदाइसँगै नेपाली क्रिकेटले एक युगको अन्त्य महसुस गरेको छ।
