
काठमाडौँ — अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार सम्हालेको सय दिनको कार्यसम्पादन विवरण सार्वजनिक गरेका छन्।
सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले जेन–जी आन्दोलनपछिको चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकारमा जनजीवनसँग प्रत्यक्ष जोडिएका तीन मन्त्रालयको जिम्मेवारी जनमुखी ढंगले अघि बढाउने प्रयास गरिएको बताए।
उनका अनुसार यस अवधिमा झापाको १४ वर्षदेखि अलपत्र कन्काई पुलसहित सडक विभागअन्तर्गत करिब ३ अर्ब रुपैयाँ बराबरका ४० वटा रुग्ण ठेक्का सम्झौता तोडिएको छ। साथै, थप करिब १५० ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
जलस्रोत तथा सिँचाइतर्फ ठेक्का अवधि ६० प्रतिशत बितिसक्दा पनि न्यून प्रगति भएका सुनकोशी मरिन बहुउद्देश्यीय आयोजना लगायत १४ अर्ब २२ करोड रुपैयाँ बराबरका २२ रुग्ण ठेक्का सम्झौता रद्द गरिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गत पनि चारवटा रुग्ण आयोजना ठेक्का तोडिएको मन्त्री घिसिङले बताए।
तोडिएका आयोजनालाई पुनः अलपत्र हुन नदिने प्रतिबद्धता जनाउँदै उनले स्पष्ट निर्णयसहित नयाँ ठेक्का प्रक्रिया सुरु भइसकेको स्पष्ट पारे। साथै, करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने लगानी ढाँचा तयार भई अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको जानकारी दिए।

त्यस्तै, डेडिकेटेड तथा ट्रंकलाइनमार्फत प्रयोग भएको विद्युत्को बक्यौता उठाउने काम सुरु भइसकेको र यसलाई सय दिनको प्रमुख उपलब्धिमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ।
