
काठमाडौं । नक्कली नोटको अवैध कारोबार भइरहेको सूचनापछि प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ स्थित अत्तरखेल चोकबाट छ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मंगलबार राति करिब ९ः३० बजे उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक हजार रुपैयाँ दरका ९३ थान नक्कली नोट बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल शंखरापुर नगरपालिका–४ साँखुमा बस्दै आएका ३२ वर्षीय दावा नोर्वु शेर्पा र ४४ वर्षीय पासाङ शेर्पा छन् । यस्तै, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ घर भई हाल साँखुमा बस्ने ३२ वर्षीय प्रकाश गुरुङ पनि पक्राउ परेका छन् ।

यसैगरी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई हाल शंखरापुर–६ बस्ने ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ घर भई हाल शंखरापुर–६ बस्ने ६५ वर्षीय गोकर्ण थापा तथा शंखरापुर नगरपालिका–३ का ४३ वर्षीय सुकबहादुर स्याङ्बो पनि प्रहरी नियन्त्रणमा छन् ।
प्रहरीले घटनासँग सम्बन्धित थप विवरण संकलन गर्दै अनुसन्धान अघि बढाइएको जनाएको छ ।
