
कपिलवस्तु । जिल्लामा धार्मिक, जातीय तथा सामाजिक सद्भाव मजबुत बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा सदरमुकाम तौलिहवामा बृहद सद्भाव र्याली सम्पन्न भएको छ। पछिल्लो समय समाजमा देखिन थालेका भ्रामक सूचना, सामाजिक सञ्जालमार्फत फैलाइने द्वेषपूर्ण अभिव्यक्ति र आपसी अविश्वासको अन्त्य गर्दै शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रवाह गर्न र्याली आयोजना गरिएको हो।
र्याली सदरमुकामका प्रमुख चोक तथा बजार क्षेत्र परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा “धार्मिक सहिष्णुता हाम्रो पहिचान”, “जातीय सद्भाव कायम गरौं”, “शान्ति र एकता नै समृद्धिको आधार” जस्ता नारा अंकित प्लेकार्ड र ब्यानरहरू प्रदर्शन गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, विभिन्न धर्मका धर्मगुरु, नागरिक समाज, युवा क्लब, महिला समूह तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागिताले कपिलवस्तु सदैव शान्ति र सद्भावको भूमि रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।
