
कपिलवस्तु । कपिलवस्तु जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी कुल ९८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारमध्ये ५० जना विभिन्न राजनीतिक दलबाट र ४८ जना स्वतन्त्रतर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। यसले यसपटकको निर्वाचनमा दलिय प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवारको उपस्थिति पनि बलियो देखिएको संकेत गर्दछ।
क्षेत्रगत विवरण अनुसार कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै दलका उम्मेदवार देखिएका छन्। यहाँ २० राजनीतिक दलका उम्मेदवार र १४ जना स्वतन्त्र उम्मेदवार गरी कुल ३४ जनाको उम्मेदवारी दर्ता भएको छ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा १७ दलका उम्मेदवार र ११ जना स्वतन्त्र उम्मेदवार गरी कुल २८ जनाले उम्मेदवारी दिएका छन्।
त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ। यस क्षेत्रमा १३ राजनीतिक दलका उम्मेदवार र २३ जना स्वतन्त्र उम्मेदवार गरी कुल ३६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लाका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारको संख्या उच्च रहेकाले यसपटकको प्रतिनिधि सभा निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। राजनीतिक दलबीचको कडा प्रतिस्पर्धासँगै स्वतन्त्र उम्मेदवारको बढ्दो उपस्थितिले मतदातालाई फरक–फरक विकल्प प्रदान गर्ने विश्वास लिइएको छ।
