पाकिस्तानमा आत्मघाती हमला, ३१ जनाकाे मृत्यु

0
Quantam abroad studies

पाकिस्तानको राजधानी इस्लामाबादस्थित तरलाई क्षेत्रमा रहेको एक इमाम बारगाहमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३१ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घटनापछि सहरभर सुरक्षा सतर्कता कडा पारिएको छ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानी प्रहरीले घटनालाई आत्मघाती आक्रमणको रूपमा पुष्टि गरेको छ। जिल्ला प्रशासनका प्रवक्ताले विभिन्न अस्पतालमा हालसम्म १५ जनालाई मृत अवस्थामा ल्याइएको जानकारी दिएका छन्, भने अन्य घाइतेहरूको उपचार जारी रहेको छ।

घटनापछि इस्लामाबादका तीन प्रमुख अस्पतालमा आपतकाल घोषणा गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई घाइतेहरूको उपचार व्यवस्थापन तथा अनुगमनका लागि विभिन्न अस्पतालमा खटाइएको जिल्ला प्रशासनले जनाएको छ।

विस्फोट भएको क्षेत्रलाई पूर्ण रूपमा सिल गरी सुरक्षा निकायले अनुसन्धान तीव्र बनाएका छन्। गृहमन्त्री मोहसिन नक्वीको निर्देशनमा गृहराज्यमन्त्री तलाल चौधरी इस्लामाबादस्थित पिम्स अस्पताल पुगेका छन् र घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सो क्रममा उनले पीडितहरूलाई उच्चस्तरीय उपचार सुविधा उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्।

sahani furniture udyog

रेस्क्यु ११२२ का अनुसार घाइतेहरूलाई निरन्तर अस्पताल भर्ना गरिँदैछ भने इस्लामाबादका प्रहरी महानिरीक्षकले सहरभर आपतकालीन अवस्था घोषणा गरेका छन्।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको कडा निन्दा गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै मृत्यु भएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री शरीफले गृहमन्त्रीलाई घटनाको विस्तृत अनुसन्धान गरी दोषीहरूको तत्काल पहिचान गर्न निर्देशन दिएका छन्। साथै, घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनी स्वास्थ्य मन्त्रीलाई प्रत्यक्ष निगरानी गर्न समेत आदेश दिएका छन्।

देशको शान्ति र सुरक्षामा खलल पुर्‍याउने कुनै पनि प्रयासलाई कदापि सहन नहुने स्पष्ट पार्दै प्रधानमन्त्रीले विस्फोटका जिम्मेवारलाई कडा सजाय दिलाइने चेतावनी दिएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.