
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने कोशी प्रदेशका केही पहाडी क्षेत्रमा पनि वर्षा जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशका अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
