
पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको ब्रेक थ्रु माघ ११ गते हुने तय भएको छ। यसअघि माघ ८ गते नै सुरुङ छिचोल्ने तयारी भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण माघ ११ गतेलाई सारिएको हो।
प्रधानमन्त्री ओलीको उपस्थितिमा पूजा सम्पन्न भएपछि सुरुङ छिचोलिनेछ। आयोजनाका अनुसार मुख्य सुरुङ छिचोल्ने काम लगभग सम्पन्न भइसकेको छ, अब मात्र दुई मिटर काम बाँकी छ।
सिद्धबाबा सुरुङमार्ग दुई लेनको हुनेछ, जसको लम्बाई ११ सय २६ मिटर र चौडाई साढे १० मिटर छ। उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन्। मुख्य सुरुङ छिचोलिए पनि अन्य धेरै काम बाँकी रहेकाले यो आयोजना २०८३ साल चैत ८ गतेसम्म सक्ने योजना रहेको छ।

हालसम्म सुरुङमार्गको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ। अबको दुई वर्षभित्र गाडी सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ। बर्खा र हिउँद दुवै सिजनमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने समस्यालाई समाधान गर्न सरकारले यो सुरुङमार्ग निर्माण गरिरहेको हो।
सुरुङमार्ग पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माण भइरहेको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले सात अर्ब ३९ करोड रुपैयाँमा यो ठेक्का पाएको हो। सिद्धबाबा सुरुङमार्गले पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा आवतजावत गर्ने गाडीलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।
