
झापा जिल्लाको कनकाई नगरपालिका–४, मनोकामना टोलमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
मंगलवार साँझ इलाका प्रहरी कार्यालय सुरुङ्गाले लागूऔषध लुकाइराखेको सूचनाको आधारमा मनोकामना टोलमा अपरेसन चलाएको थियो। सुरुङ्गाका प्रहरी प्रमुख, वरिष्ठ प्रहरी नायब निरीक्षक (सप्रनानि) राधाकृष्ण दाहालको नेतृत्वमा गएको टोलीले अभियुक्तहरूलाई पछ्याउने क्रममा उनीहरू भाग्न थालेपछि प्रहरीले ६ राउन्ड गोली प्रहार गरेको थियो।
गोली लागेर घाइते भएका भारत, बिहार राज्यको डिघलबैंक थाना वडा नं. ५ निवासी २८ वर्षीय अन्जर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको देब्रे खुट्टामा गोली लागेको छ भने उनका १७ वर्षीय भाइ युसुब आलमलाई समेत पक्राउ गरिएको छ।

प्रहरीले उनीहरूबाट बिआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकल र करिब ३५ ग्राम ब्राउन सुगर बरामद गरेको छ। घाइते अन्जर आलमलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा रेफर गरिएको छ।
खुला सीमाका कारण भारतबाट लागुऔषध तस्करी बढेको भन्दै सुराकीका आधारमा प्रहरीले निगरानी कडा बनाएको जनाएको छ। पक्राउ परेका युसुब आलम र बरामद मोटरसाइकल हाल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ।
