
‘होस्टेल’ फिल्मको सफल यात्राले तेस्रो कडीसम्म आइपुगेको छ। शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको ‘होस्टेल-३’ ले युवापुस्तालाई केन्द्रमा राखेर नयाँ कलाकारको इन्ट्रीसँगै नयाँ उत्साह भित्र्याएको छ। युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको यो फिल्मले हलमा उत्साहजनक शो पाएको छ।
सशान कँडेल निर्देशित यो फिल्ममा चर्चित टिकटकरदेखि स्टार किड्ससम्मको अभिनय यात्रा सुरू भएको छ। कुल ब्वाइ (पारस बम ठकुरी), सिम्रन पन्त, आशिष घिमिरे (केदार घिमिरे ‘माग्नेबुढा’का छोरा), पदम तामाङ, रिहान गिरी, समा पराजुली जस्ता नयाँ अनुहारको प्रवेशले दर्शकमाझ थप कौतुहलता जगाएको छ।

थिएटर कलाकार हेना नगरकोटी प्रमुख भूमिकामा देखिएकी छन् भने प्रविण खतिवडा, उमर खान, दिनेश डिसी जस्ता अनुभवी कलाकारको उपस्थिति फिल्मको आकर्षण हो। हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ, जसले फिल्मलाई राम्रो व्यापारको संकेत गरेको छ।
