
कृष्णनगर नगरपालिका–९, बहादुरगंजस्थित छन्द कालेबाबु नारायणी आँखा अस्पतालको नवनिर्मित अस्पताल तथा कर्मचारी आवास भवनको उद्घाटन गरिएको छ। बुधबार सम्पन्न उद्घाटन समारोहमा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।
अस्पतालका प्रशासन शाखा प्रमुख जसराज विकका अनुसार तीन तले भवनको निर्माणमा अस्पतालकै आन्तरिक स्रोतका साथै विभिन्न निकायको सहयोग जुटाइएको हो। संविधानसभा सदस्य अभिषेक प्रताप शाहको तत्कालीन संसदीय विकास कोषबाट ५० लाख रुपैयाँ, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, विजयनगर गाउँपालिका तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय र आन्तरिक मामिला मन्त्रालयको आर्थिक योगदान रहेको छ।
यस अस्पतालले हालसम्म ११ लाख १८ हजारभन्दा बढी बिरामीलाई ओपीडी सेवा प्रदान गरिसकेको छ, जसमा ६९ प्रतिशत भारतीय नागरिक रहेको जानकारी विकले दिए।

उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसी, जानकी यादव, संविधानसभा सदस्य अभिषेक प्रताप शाह, नगर प्रमुख रजत प्रताप शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, प्रतीक अग्रवाल, नेता किफायतुल्लाह खाँ, रहिश शाह, अखिलेश्वर पाण्डेय, राप्ती आँखा अस्पताल दाङका पदाधिकारी, नेत्र ज्योति संघका प्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो।
