
कपिलवस्तु , चैत्र ११
ट्राफिक प्रहरी नागरिक कै सुरक्षाका लागि खटिने भएतापनि ट्राफिक प्रहरी कै केहि कार्यशैलिले गर्दा ट्राफिक प्रहरीमो छवि आमजनमानसमा नकारात्मक बन्दै गएको छ। ट्राफिक प्रहरीको काम केवल लाइसेन्स, बिलबुक र भन्सार चेक गर्ने मात्र होइन, समग्र यातायात व्यवस्थापनलाई सुदृढ बनाउनु पनि हो। ट्राफिक नियमको कार्यान्वयन गराइ सडकलाई सुरक्षित बनाउने र पैदल यात्रुहरूका लागि सहज वातावरण सिर्जना गर्ने , जनतालाई ट्राफिक नियमबारे सचेत गराउने जस्ता महत्वपुर्ण जिम्मेवारी ट्राफिक प्रहरीको हो।
तर, हाल कपिलवस्तुको तौलिहवामा ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको देखिन्छ। बजार क्षेत्रमा व्यापारीहरूले फुटपाथ कब्जा गरेका छन्, जसका कारण पैदलयात्रीले सहज रूपमा हिँड्न पाएका छैनन्। यस्तै, व्यापारीका गाडी तथा मालसामानले दिनहुँ सडकका केही भाग र लेन नै कब्जा गर्ने गरेका छन्। साथै, पैदलयात्रीहरूले जेब्राक्रसिङको प्रयोग नगर्दा र सडक अनुशासन नमान्दा दुर्घटनाको जोखिम बढेको छ। अर्कोतर्फ, अटो र ई-रिक्सा चालकहरूले मनोमानी भाडा असुलिरहेका छन्, जसमा ट्राफिक प्रहरी मौन देखिन्छ।

यसका साथै, खोलाहरूको ठेक्का प्रक्रियापछि नदीजन्य पदार्थहरूको निकासी भइरहेको छ। यस क्रममा ट्याक्टरमा बालुवा, मिस्कट र माटो लोड गरेर सुरक्षाका मापदण्ड बेवास्ता गर्दै सवारी चलाइन्छ। खुला रूपमा ढुवानी गर्दा सडकमा पानी चुहिने, बालुवा र धुलो उड्ने जस्ता समस्याले पैदलयात्री, साइकलयात्री, र मोटरसाइकल चालकहरू समस्यामा परिरहेका छन्। यी गतिविधिहरूले दुर्घटनाको जोखिमसमेत बढाएको छ। तर, ट्राफिक प्रहरी तथा जिल्ला ट्राफिक प्रहरी यस संवेदनशील विषयमा चासो नदिई मौन बसेको देखिन्छ। रामघाटदेखि तौलिहवा तथा बर्गदी पुल हुँदै तौलिहवा आउने हुलाकी राजमार्गमा दुर्घटनाको जोखिम उच्च छ, तर ट्राफिक प्रहरी भने लाइसेन्स र ब्लुबुक चेक गर्नमै सीमित देखिन्छ।
यस विषयमा तौलिहवा ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्र खड्कासँग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन मानेनन्। त्यसपछि जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक पंकज चुडालीसँग कुरा गर्दा उनले नागरिकलाई ट्राफिक नियमबारे सचेत गराउन दैनिक कार्यक्रमहरू सञ्चालन भइरहेको बताए। त्यस्तै, तौलिहवा बजार क्षेत्रमा फुटपाथ र लेन कब्जा, अटो-रिक्साको मनोमानी भाडा उठाउने जस्ता समस्याहरू समाधान गर्न स्थानीय सरकारको अग्रसरता आवश्यक रहेको उनको भनाइ छ।
प्रहरी निरीक्षक चुडालीका अनुसार ट्राफिक नियमको पूर्ण कार्यान्वयनका लागि ट्राफिक प्रहरी सक्रिय रूपमा जिम्मेवारी बहन गरिरहेको छ, तर यसका लागि सबै पक्षको सहयोग आवश्यक छ। स्थानीय सरकारको अगुवाइमा मात्र फुटपाथ अतिक्रमण हटाउन सकिने र सार्वजनिक यातायात व्यवस्थित गर्न सकिने उनको धारणा छ। तर, वास्तविक रूपमा ट्राफिक प्रहरीको भूमिकामा सुधार आवश्यक देखिन्छ, ताकि तौलिहवामा ट्राफिक व्यवस्था प्रभावकारी रूपमा सञ्चालन हुन सकोस्। यस्ता बिषयमा ट्राफिक प्रहरी ले दाबिगरे बमोजिम को कार्य नदेखिदा प्रहरी को काम शकांको घेरामा पर्दै आएको छ
