
ढाका – बंगलादेश फेरि राजनीतिक उथलपुथलको संघारमा पुगेको छ। अन्तरिम सरकारका प्रमुख डा. मोहम्मद युनुसमाथि चाँडै चुनावी मार्गचित्र सार्वजनिक गर्न र डिसेम्बरसम्म निर्वाचन गराउन सेना र राजनीतिक दलहरूको तीव्र दबाब परेको छ। युनुसले राजीनामाको संकेत दिएपछि देशको राजनीतिक तापक्रम झनै बढेको छ।
सेना प्रमुख वकार-उज-जमानले डिसेम्बरसम्म चुनाव गराउन स्पष्ट चेतावनी दिएका छन्। अर्कोतर्फ, विद्यार्थी संगठनहरूले अघिल्लो शेख हसिना सरकारका कथित अपराधमा अनुसन्धान र न्याय नभएसम्म आम चुनाव स्वीकार नगर्ने अडान लिएका छन्।
पूर्वप्रधानमन्त्री खालिदा जियाको बीएनपीले सरकारसँग तत्काल चुनावी रोडम्यापको माग गर्दै चेतावनी दिएको छ। बीएनपी र जमात-ए-इस्लामीबीच आन्दोलनको रणनीतिका लागि लगातार बैठकहरू भइरहेका छन्। चुनाव नगरी फेरि राष्ट्रिय सरकार गठन गर्ने प्रयासमा युनुस रहेको चर्चा पनि छ।

देशभित्रको असन्तोषसँगै सेना र सरकारबीचको सम्बन्धमा चिसोपन बढ्दो छ। सेनाले राखिन करिडोरसम्बन्धी योजनामा असहमति जनाएपछि तनाव अझ चुलिएको छ। सेनाले यसलाई ‘रक्तपातपूर्ण योजना’ भन्दै चेतावनी दिएको थियो, जसपछि सरकार यू-टर्न लिँदै कुनै सम्झौता नभएको दाबी गरेको छ।
युनुस नेतृत्वको सरकार हालैको राजनीतिक दबाब, सेना र विद्यार्थीको विरोध, तथा मन्त्रिपरिषद् सल्लाहकारहरूप्रति उठेका मागका कारण संकटमा परेको देखिन्छ। विश्लेषकहरूका अनुसार हालको अवस्थाले देशमा पुनः सैन्य हस्तक्षेप वा सरकार परिवर्तनको सम्भावना बलियो बनाएको छ।
