
भारतको बिहार राज्यमा हुन लागेको दोस्रो चरणको विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै रौतहटको नेपाल–भारत सीमा क्षेत्र बन्द गरिएको छ। आगामी कात्तिक २५ गते (नोभेम्बर ११) का दिन बिहार राज्यको सितामढी र पूर्वी चम्पारण जिल्लामा मतदान हुने भएकाले सिमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सीमा नाका अस्थायी रूपमा बन्द गरिएको हो। उनका अनुसार नेपाल–भारतबीचको आवागमन कात्तिक २५ गते साँझ ६ बजे सम्म पूर्ण रूपमा रोकिएको छ।
सीमामा आकस्मिक सेवा बाहेक सवारीसाधन र सामान्य जनआवागमन बन्द गरिएको भए पनि, केही स्थानमा परिचय खुल्ने कागजात देखाएर पैदल आवागमन भइरहेको गौरका स्थानीय अमित केशरीले बताएका छन्। उनका अनुसार भारतीय नागरिकहरू आधार कार्ड देखाएर मतदान गर्न भारततर्फ प्रवेश गर्न पाएका छन्, भने नेपाल फर्किने नेपाली नागरिकलाई नागरिकता देखाएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सहज रूपमा प्रवेश दिइरहेको छ।

यसैबीच, सीमा क्षेत्रमा सुरक्षामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। निर्वाचन अवधिभर अवाञ्छित गतिविधि रोकथाम र सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्नका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सुरक्षा निकायबीच समन्वय गरिएको छ।
रौतहटको गौर, इनरवा, भन्सार लगायतका नाकामा अहिले दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन्। प्रशासनले जनतालाई अत्यावश्यक कारणबाहेक सीमा क्षेत्र नजिक नजान अनुरोध गरेको छ।
