रुपन्देहीमा २३ लाख बराबरको अवैध सामान बरामद

0
Quantam abroad studies

रुपन्देही, कात्तिक २४ — जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पछिल्ला दुई दिनभित्र झण्डै २३ लाख रुपैयाँ मूल्यका अवैध सामान बरामद गरेको छ। कात्तिक २१ र २२ गते विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छली र चोरी–पैठारी गरी ल्याइएका सामानहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार बरामद गरिएका सबै सामान कात्तिक २३ गते आवश्यक कानुनी प्रक्रिया अघि बढाउन भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ।

प्रहरीका अनुसार, पहिलो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–२ मैनिहवाबाट ऊनका लेडिज कुर्ता, बच्चाका मोजा, टोपी, टाउजर सेट, हुडी र जेन्स मोजा लगायतका कपडाका वस्तु नियन्त्रणमा लिएको थियो। ती सामानहरूको अनुमानित मूल्य रु. १ लाख २५ हजार ८ सय रहेको प्रहरीले जनाएको छ।

sahani furniture udyog

त्यस्तै, इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा नगरपालिका–३ शंकरनगरमा भारतीय नम्बर प्लेट भएको कारबाट बिलबिजक बिना ल्याइएका वस्तु बरामद गरेको छ। कारको पछाडिको सिटमुनि लुकाइएका सामानहरूमध्ये ल्यापटप चार्जर झोला, गाई आकारको धातु मूर्ति, मदिराका बोतल, विभिन्न कम्पनीका मोबाइल डिस्प्ले र गमका प्याकेटहरू थिए। उक्त कार र सामान गरी जम्मा रु. १८ लाख ४० हजार २२८ बराबरको मूल्यांकन गरिएको छ।

यसैबीच, प्रहरी चौकी शिवपुर गोनाहा र मर्यादपुरको संयुक्त टोलीले मायादेवी गाउँपालिका–५ गोनाहाबाट लु २२ प १२५७ नम्बरको मोटरसाइकलसहित कपडाका विभिन्न वस्तु बरामद गरेको छ। ती वस्तुहरूमा ऊनका लेडिज सुट, उनी सल, काँचो कपडा र बाक्ला सुटहरू रहेका थिए। बरामद वस्तुको मूल्य रु. ३ लाख २२ हजार २०० बराबर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका अनुसार, अवैध सामान ओसारपसार र भन्सार छलीविरुद्धको कारबाहीलाई निरन्तरता दिइनेछ। “सीमावर्ती क्षेत्र हुँदै हुने गैरकानुनी कारोबार नियन्त्रणमा कडाइ गरिँदैछ,” प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.