
पाँच महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा चार पटक नियमित हवाई उडान सुरु भएको छ। नेपाल वायुसेवा निगमका स्टेशन प्रमुख सुमन थापाका अनुसार अब आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी नियमित उडान सञ्चालन हुनेछ।
निगमको ट्वीनअटर जहाज बिग्रिएपछि हालसम्म हप्तामा केवल एकपटक मात्रै उडान हुँदै आएको थियो। मर्मत सम्पन्न भएपछि पुनः नियमित तालिका सुरु गरिएको हो।
१९ सिट क्षमताको ट्वीनअटर जहाज बिहान ६:३० बजे काठमाडौंबाट र ७:३० बजे रेसुङ्गाबाट उडान गर्नेछ। निगमले काठमाडौं–गुल्मी भाडा ७,५०० र गुल्मी–काठमाडौं भाडा ७,३०० रुपैयाँ निर्धारण गरेको छ।

निगमका अनुसार रेसुङ्गामा दिउँसो हावाको तीव्र चाप हुने भएकाले प्राविधिक कारणले बिहानको समयमा मात्र उडान सञ्चालन गरिन्छ।
