
कपिलवस्तु — कपिलवस्तु अस्पतालले अब ज्येष्ठ नागरिक र फरक क्षमता भएका सेवाग्राहीलाई उपचारका प्रत्येक चरणमा सहज र सम्मानजनक सेवा दिने लक्ष्यसहित नयाँ व्यवस्था लागू गरेको छ। अस्पतालले उनीहरूलाई छिटो, छरितो र कष्टविहीन सेवा उपलब्ध गराउन विशेष ‘पिंक काउन्टर’ सञ्चालनमा ल्याएको हो।
नयाँ व्यवस्थाअनुसार ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूले टिकट काट्ने क्रममा अब भीडमा बस्नुपर्ने छैन। पिंक काउन्टरमा उनीहरूलाई विशेष टिकट पनि पिंक रंगमै उपलब्ध गराइनेछ। यसले काउन्टरमा लाइन बस्ने, धक्का–मुक्का झेल्ने वा घन्टौँ पर्खिनुपर्ने बाध्यता अन्त्य भएको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेका अनुसार सेवा प्रवाहलाई सहज बनाउने र कमजोर वर्गका सेवाग्राहीलाई प्राथमिकताका साथ उपचार उपलब्ध गराउने उद्देश्यले यो पहल सुरु गरिएको हो।
“ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरू उपचारमा धेरै कठिनाइ भोग्दै आएका थिए। अबदेखि टिकटदेखि उपचारसम्म सबै चरणमा उनीहरूलाई पहिलो प्राथमिकता दिइनेछ,” डाक्टर बन्जाडेले बताए।
अस्पतालले जारी गरेको सूचनासहित पिंक काउन्टर सञ्चालनमा आएपछि सेवाग्राहीहरू पनि खुसी देखिएका छन्। धेरैजसोले पर्खाइ समय घटेको, स्टाफले सहयोगी व्यवहार गरेको र अस्पतालभित्र अत्यावश्यक सेवामा सहजता आएको अनुभव सुनाए।

अस्पताल प्रशासनका अनुसार बिरामीको चाप बढ्दै गए पनि विशेष श्रेणीका सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले थप प्राविधिक तथा संरचनात्मक सुधार पनि गरिँदै छ। उनका अनुसार, “उपचार प्रभावकारी र मानव–केन्द्रित बनाउनु नै हाम्रो पहिलो लक्ष्य हो।”
स्थानीय समुदायले पनि अस्पतालको यो कदमलाई स्वागत गर्दै ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई सम्मानजनक सेवा सुनिश्चित गर्नेमा विश्वास व्यक्त गरेका छन्।

