
भैरहवा । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ती हात्ती कतार पठाउने तयारी भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन तथा तालिम केन्द्र, खोरसोरमा जन्मिएका ७ वर्षे रुद्रकली र ६ वर्षे खगेन्द्रप्रसाद आज बिहान करिब ४ बजे भैरहवा आइपुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार हाल ती हात्तीलाई विमानस्थल नजिकैको खाली जग्गामा अस्थायी रूपमा राखिएको छ ।
उक्त हात्तीहरूलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो । आजै वन तथा वातावरण मन्त्रालयका सचिव तथा राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामै कतारी दूतावासका प्रतिनिधिलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हस्तान्तरणपछि विशेष कार्गो विमानमार्फत ती हात्ती कतार पठाइनेछ ।

रुद्रकली पोथी हात्ती पूजाकलीकी छोरी हुन् भने खगेन्द्रप्रसाद कोशीकलीको बच्चा हो । दुवै हात्तीका बाबु जङ्गली भाले हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले जनाएको छ । खोरसोरस्थित प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरू जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासबाट गर्भवती हुने गरेका छन् ।
सरकारले कतारलाई हात्ती उपहार दिने निर्णय गरेपछि आवश्यक सबै कानुनी, प्राविधिक र व्यवस्थापकीय प्रक्रिया पूरा गरी पठाउन लागिएको हो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको २०७५ सालको कतार भ्रमणका क्रममा नेपालले हात्ती उपहार दिने घोषणा गरिएको थियो ।
यसअघि नेपालले विभिन्न मुलुकलाई एकसिङ्गे गैँडा, हात्तीलगायतका वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्न र नेपालको जैविक विविधताको महत्व अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता उपहार आदान–प्रदान गरिँदै आएको भए पनि हात्ती उपहारस्वरूप विदेश पठाउन लागेको यो पहिलो पटक हो ।
