
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ अन्तर्गत मायादेवी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गाउँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पकडीमा आयोजित अधिवेशनबाट मङ्गल यादवको अध्यक्षतामा १९ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष राजकुमार चौधरी, सचिव जितबहादुर धोबी र कोषाध्यक्ष ओमप्रकाश पासवन रहेका छन्। अधिवेशनकै अवसरमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र जसपाबाट ५३ जना नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा राप्रपाका केन्द्रीय सदस्य ध्रुवबहादुर रायमाझीले जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा फसेको उल्लेख गर्दै नयाँ राष्ट्रिय समझदारीको आवश्यकता औँल्याउनुभयो। चरम कुशासन र बेरोजगारीकै परिणामस्वरूप जनआक्रोश बढेको उहाँको भनाइ थियो।

शत्रुधन विलास चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
