
काठमाडौँ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा काँग्रेस–एमाले–जसपा गठबन्धनले क्लिन स्वीप गरेको छ । आइतबार साँझ मतगणना सकिएसँगै सार्वजनिक नतिजाअनुसार गठबन्धनका उम्मेदवारहरू तीनै समूहमा विजयी भएका हुन्।
महिला समूहतर्फ नेकपा एमालेकी रामकुमारी झाँक्री निर्वाचित भएकी छन् । उनले ६ हजार ३३० मतभार प्राप्त गर्दै स्पष्ट अग्रता बनाइन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ मतभार ल्याउँदा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डित १४२ मतभारमै सीमित भइन्।

अपाङ्गता समूहमा नेपाली कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ विजयी भए । उनले ५ हजार ३२२ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका सजन विकले १ हजार ६०१ मतभार पाएका छन्।
यस्तै, अन्य समूहअन्तर्गत पनि कांग्रेसकै चन्द्रबहादुर केसीले बाजी मारे । उनले ५ हजार ९७७ मतभारसहित विजय सुनिश्चित गर्दा माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत प्राप्त गरे । राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार ल्याए।
यस परिणामसँगै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा जाने तीनै सदस्य काँग्रेस–एमाले–जसपा गठबन्धनबाट निर्वाचित भएका छन् । गठबन्धनको साझा रणनीतिले निर्वाचन परिणाममा स्पष्ट प्रभाव पारेको विश्लेषकहरूको भनाइ छ।
