
आज रातिदेखि देशको मौसम फेरिन थालेको छ । पश्चिमी भेगबाट सक्रिय भएको प्रणालीका कारण भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रातिदेखि नै बादल लाग्न सुरु भई भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ ।
मौसमविद् सन्दीप अधिकारीले भोलि पश्चिमी तराईका केही स्थानमा हल्का वर्षा र पहाडी–हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने जानकारी दिनुभयो । उहाँका अनुसार यो मौसम प्रणाली पर्सि बुधवारसम्म बागमती र कोशी प्रदेशसम्म फैलिनेछ ।

काठमाण्डौ उपत्यकामा पनि पर्सि बुधवार पानी पर्ने सम्भावना छ । बुधवार बेलुकादेखि भने मौसम क्रमशः खुल्दै जाने अनुमान गरिएको छ ।
यसअघि पनि गएको शुक्रवार र शनिवार पश्चिमी क्षेत्रमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात भएको थियो । आज दिनभर कर्णाली, सुदूरपश्चिम र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली र अन्य भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेको छ ।
