
भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले उत्पादनको उचित बजार पाउन थालेका छन्। भारतीय दूध नेपाली सरह मूल्यमा पुगेपछि विगतका वर्षझैँ सस्तो दूध नेपाल भित्रिने क्रम रोकिएको हो। यसले सीमावर्ती क्षेत्रमा नेपाली दूधको माग बढाएको छ।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अनुसार हाल भारतमा दूधको मूल्य नेपालीभन्दा ४६ पैसा मात्र बढी छ। ढुवानी खर्च जोडिँदा भारतीय दूध महँगो पर्ने भएकाले यस वर्ष भारतबाट अवैध रूपमा दूध नेपाल आएको छैन, उल्टै नेपाली दूध लुकीछिपी भारततर्फ गएको सूचना छ।
भुक्तानी ढिलाइ र पशुपालनप्रतिको घट्दो आकर्षणका कारण उत्पादन केही घटेको भए पनि यस वर्ष बजार सहज भएको छ। हाल दैनिक करिब ४५ लाख लिटर दूध उत्पादन हुने अनुमान छ, जुन गत वर्षभन्दा झण्डै एक लाख लिटर कम हो।

भारतबाट दूध नआउँदा स्वदेशी उत्पादनले राम्रो बजार पाउने बताउँछन्। जाडो महिनामा खपत कम हुने समस्या भए पनि यस वर्ष ‘मिल्क होलिडे’ गर्नु नपरेको भनाइ छ।
चितवन मिल्कका अनुसार गत वर्ष दैनिक दुई लाख लिटर प्रशोधनका लागि आउने दूध यो वर्ष करिब ७० हजार लिटरमा सीमित भएको छ। नौनी र दूध पाउडर भण्डारण गर्न ठाउँ नपुग्ने अवस्था यस वर्ष नदेखिएको उद्योगको भनाइ छ।
