
काठमाडौं । देशका पश्चिमी भूभागमा आज वर्षा र हिमपातको सम्भावना देखिएको छ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै यसको प्रभाव दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम खालको वर्षा हुन सक्ने सम्भावना छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार सुदूरपश्चिम क्षेत्रबाट गएरातिदेखि सक्रिय भएको यो प्रणाली आज बेलुकापछि क्रमशः पूर्वतर्फ सर्नेछ ।
यसको प्रभाव भोलि काठमाडौँ उपत्यकासहित मधेश र कोशी प्रदेशसम्म पुग्ने अनुमान गरिएको छ । ती क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् । तराई क्षेत्रमा भने मौसमको प्रभाव सामान्य मात्र रहनेछ ।

यसअघि गएको शुक्रबार र शनिबार पश्चिम नेपालका विभिन्न स्थानमा वर्षासँगै उच्च भूभागमा हिमपात भएको थियो । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार आज र भोलि हिमाली तथा उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात भए पनि ठूलो झरीको सम्भावना भने न्यून रहेको छ ।
