
चितवन । चितवनको माडी नगरपालिका–१ मा गैँडाको आक्रमणबाट एक युवाको ज्यान गएको छ । स्थानीय २२ वर्षीय अशोक भट्टराईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घर नजिकैको मरड खोलातर्फ घाँस–दाउरा लिन गएका भट्टराईमाथि सोमबार गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । तर, उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट चितवनमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार दुवै घटनामा गैँडाको आक्रमणका कारण मानवीय क्षति भएको हो ।
