
काठमाडौँ, माघ २६ — गत भदौ २३ र २४ गते भएको नवयुवा (जेनजी) आन्दोलनका क्रममा भएको जनधन क्षतिको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन कार्य अन्तिम चरणमा पुर्याएको छ। आयोगले दोषीमाथि कारबाहीको किटानी रायसहितको प्रतिवेदन यसै साता सरकारलाई बुझाउने तयारी गरेको जनाएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले करिब पाँच महिनासम्म छानबिन गर्दै घटनामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न दुई सयभन्दा बढी व्यक्तिसँग बयान तथा सोधपुछ गरेको छ। आयोगका अनुसार प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको छ।
जेनजी आन्दोलन हिंसात्मक बन्दा ७६ जनाको ज्यान गएको थियो भने दुई हजार ४२९ जना घाइते भएका थिए। आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा करिब साढे ८४ अर्ब रुपैयाँ बराबरको क्षति भएको आयोगको निष्कर्ष छ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, चारै सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ व्यक्तिसँग पनि बयान लिइसकेको छ। आयोगले कुनै पनि हिंसात्मक घटनामा संलग्नलाई उन्मुक्ति दिन नसकिने स्पष्ट गर्दै कानुनी दायरामा ल्याउन सिफारिस गर्ने तयारी गरेको जनाएको छ।
