
कपिलवस्तु – जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निर्वाचन आचारसंहिता, २०८२ पूर्ण रूपमा पालना गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ। कार्यालयले सूचना जारी गर्दै आचारसंहिताविपरीत गतिविधि भएको भन्ने जनगुनासो प्राप्त भएपछि यस्तो आग्रह गरेको जनाएको हो।
सूचनामा उल्लेख भएअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचार–प्रसारमा संलग्न हुन सक्ने व्यवस्था छ। तर प्रचारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट प्रावधान रहेको छ।
यही प्रावधान विपरीत केही स्थानीय तहमा आचारसंहिता उल्लङ्घन भएको गुनासो आएपछि प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतमार्फत जारी सूचनामा सबै सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न–गराउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पनि जनाएको छ।
