
काठमाडौं — वैदेशिक रोजगारीको नाममा विदेश पठाइदिने आश्वासन दिँदै ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गर्दै थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग लाई बुझाएको जनाएको छ।
पक्राउ पर्नेमा महोत्तरी सम्सीपालिका–१ का जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका–३ का थमराज नेपाली र ललितपुर महालक्ष्मी नगरपालिका–१ का रामकुमार राई रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले पाँच जना पीडितलाई बेलायत र रोमानियामा आकर्षक तलबसहितको रोजगारी लगाइदिने प्रलोभन दिएका थिए। उच्च आम्दानी, सुरक्षित भविष्य र छिटो प्रक्रिया पूरा हुने आश्वासन देखाएर विभिन्न समयमा पीडितहरूबाट लाखौँ रुपैयाँ असुलेको अनुसन्धानबाट खुलेको छ।

तर विदेश पठाउने प्रक्रिया अघि नबढेपछि पीडितहरूले उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
वैदेशिक रोजगारीको सपना देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले सर्वसाधारणलाई आधिकारिक प्रक्रिया र सरकारी निकायमार्फत मात्रै विदेश जान आग्रह गरेको छ। साथै, कुनै पनि शंकास्पद प्रस्ताव आएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
