
कपिलवस्तुमा दुई फरक स्थानमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता उच्च बनाइएको छ।
कपिलवस्तुको गोरुसिङ्गे–बनगाई सडक खण्ड अन्तर्गत ड्राइ नाला नजिक र वर्गदीघाट पुल क्षेत्रमा मङ्गलबार बिहान शंकास्पद वस्तु फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरी नायब उपरक्षक रिपेन्द्र कुमार सिंहले ड्राइ नाला नजिक शंकास्पद वस्तु देखिएपछि तत्काल क्षेत्र घेराबन्दी गरी सुरक्षात्मक उपाय अपनाइएको जानकारी दिनुभयो। उक्त स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ भने वर्गदीघाट पुलतर्फको टोली घटनास्थल पुग्ने क्रममा रहेको उहाँले बताउनुभयो।
सुरक्षा निकायले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक भीड नगर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेका छन्। शंकासद वस्तुको प्रकृति र उद्देश्यबारे विस्तृत अनुसन्धान जारी रहेको र अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
