
कपिलवस्तु – प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले जुलुस, आमसभा तथा कोणसभा गर्नुअघि स्थानीय प्रशासनबाट अनिवार्य अनुमति लिन आग्रह गरेको छ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत, कपिलवस्तुद्वारा जारी सूचनामा निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद–४, दफा १३ (ख) बमोजिम कुनै राजनीतिक दल, उम्मेदवार वा दलका भातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला आयोजना गर्नुपूर्व जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।
सूचनाअनुसार कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई मिति, समय, मार्ग र स्थानबारे कम्तीमा २४ घण्टा अगावै जानकारी गराउनुपर्नेछ।

त्यस्तै, प्रचारप्रसारका क्रममा सवारीसाधन प्रयोग, सञ्चारमाध्यमको उपयोग तथा निर्वाचन खर्च सम्बन्धी आचारसंहिताको पूर्ण पालना गर्न समेत आग्रह गरिएको छ।
निर्वाचन आयोगले आगामी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई नियमको पालना गर्न आह्वान गरेको छ।

