
कपिलवस्तु — जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नेपाली नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा नक्कली नोट प्रयोग भइरहेको भन्ने विशेष सूचनाको आधारमा गरिएको खोजतलासका क्रममा चार जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये बुद्धभूमि नगरपालिका–६ कोहोलिया बस्ने ५० वर्षीय सट्टु यादवको साथबाट नेपाली रुपैयाँ १,००० दरका ९९ थान नक्कली जस्तो देखिने नोट बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी उनले विभिन्न स्थानमा कारोबार गरेको २ थानसहित कुल १,०१,००० रुपैयाँ बराबरका १०१ थान नक्कली जस्तो देखिने नोट फेला परेको जनाइएको छ।
प्रहरीका अनुसार अन्य पक्राउ पर्नेमा अन्दाजी १९ वर्षीय अजय यादव, कपिलवस्तु नगरपालिका–८ कवहीरा बस्ने ४२ वर्षीय संजय गुप्ता (पटेश्री प्रसाद गुप्ता) र अन्दाजी ५० वर्षीया साजिदा खातुन रहेका छन्।

नक्कली नोट बुद्धभूमि नगरपालिका–१० स्थित एक पेट्रोल पम्प र तरकारी पसल तथा कपिलवस्तु नगरपालिका–३ स्थित पेट्रोल पम्पमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त घटनामा संलग्नविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

