
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन पुनः सचेत गराएको छ। आयोगले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्नुपर्ने दायित्व सबै सरोकारवालाको भएको स्मरण गराउँदै स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरण कायम राख्न आग्रह गरेको हो।
आयोगका अनुसार केही जनप्रतिनिधि आचारसंहिता विपरीत दल तथा उम्मेदवारको प्रचारमा देखिएको भन्दै उजुरी परेपछि ध्यानाकर्षण भएको हो। आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई आफ्नै कार्यक्षेत्रभित्र कुनै दल वा उम्मेदवारको प्रचारमा सहभागी हुन निषेध गरेको छ। अन्य स्थानीय तहमा प्रचार गर्न पाइए पनि सरकारी स्रोत–साधन प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ।

आयोगले आचारसंहिताको उल्लंघन भएमा कडा अनुगमन र आवश्यक कारबाही गरिने संकेत दिएको छ।
