
कपिलवस्तु, फागुन १३ — प्रतिनिधि सभा सदस्य निर्वाचनलाई व्यवस्थित, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न कपिलवस्तु जिल्लाभर तीन दिन मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गर्दै फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी फागुन १८ गते (सोमबार) राति १२:०० बजेदेखि फागुन २१ गते (बिहीबार) मतदान कार्य सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन पूर्ण रूपमा निषेध गरिएको जनाएको छ।
निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न तथा कुनै अवाञ्छित गतिविधि हुन नदिन यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।

सूचनाको उल्लंघन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेर हो–हल्ला लगायतका गतिविधि गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भवेश्वर घिमिरेले जानकारी दिएका छन्।
