केराको मूल्य आकाशिँदा पनि किसानको हात खाली — बिचौलियाको दबदबा बढ्दो

0
Quantam abroad studies

काठमाडौँ। बजारमा केराको मूल्य निरन्तर उकालो लागिरहेको छ, तर उत्पादन गर्ने किसान भने अझै पुरानै मूल्यमा चित्त बुझाउन बाध्य छन्। बिचौलियाको बढ्दो प्रभावका कारण खेतदेखि उपभोक्तासम्म पुग्दा मूल्यमा ठूलो अन्तर देखिएको छ, जसको प्रत्यक्ष मार किसानमाथि परेको छ।

पश्चिम नवलपरासीका केरा उत्पादक किसानहरूका अनुसार उनीहरूले हालसम्म पनि प्रतिदर्जन ५० रुपैयाँभन्दा बढी मूल्य पाउन सकेका छैनन्। केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले बजारमा केराको मूल्य ३०० रुपैयाँसम्म पुगेको चर्चा भइरहे पनि किसानले त्यसको सानो अंश मात्र पाउने गरेको गुनासो गरे। “बीचको पैसा कहाँ गयो, सरकारले छानबिन गर्नुपर्छ,” उनले भने।

काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी विकास समितिको पछिल्लो मूल्य सूचीअनुसार राजधानीमा केराको मूल्य प्रतिदर्जन २४० देखि २६० रुपैयाँसम्म पुगेको छ। तर ढुवानी खर्च र स्थानीय बजारको अवस्थाका कारण अन्य जिल्लामा किसानले ५० रुपैयाँभन्दा माथिको मूल्य पाउन नसकेको अवस्था छ। उपभोक्ताहरूले भने खुद्रा बजारमै १४० देखि १९० रुपैयाँसम्म तिर्नुपरेको बताएका छन्।

किसानहरूका अनुसार मल, श्रम र ढुवानी खर्च निरन्तर बढ्दै गए पनि त्यसअनुसारको मूल्य नपाउँदा खेती लाभदायक बन्न सकेको छैन। सिँचाइ अभाव र भारतबाट हुने आयातले समेत स्थानीय उत्पादनलाई थप चुनौती दिएको उनीहरूको भनाइ छ।

sahani furniture udyog

पश्चिम नवलपरासीमा करिब २ हजार बिघा क्षेत्रफलमा केराखेती हुँदै आएको छ, जहाँबाट उत्पादित केरा दाङ, नारायणगढ, पोखरा र काठमाडौँसम्म आपूर्ति हुँदै आएको छ। यद्यपि, उत्पादन र उपभोक्ताबीचको मूल्य अन्तर बढ्दै जाँदा किसान निरुत्साहित बन्दै गएका छन्।

किसानहरूले बजार अनुगमनलाई कडाइ गर्न, मूल्य निर्धारणमा पारदर्शिता ल्याउन र बिचौलियाको नियन्त्रणका लागि प्रभावकारी नीति लागू गर्न सरकारसँग माग गरेका छन्। साथै, सिँचाइ सुविधा विस्तार र आयात नियन्त्रणमार्फत स्थानीय उत्पादन संरक्षण गर्नुपर्नेमा उनीहरूको जोड छ।

यस विषयमा सम्बन्धित निकायको समयमै ध्यान नगए किसान र उपभोक्ता दुवै थप मारमा पर्ने देखिन्छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.