
काठमाडौं — देशभर मनसुन सक्रिय बन्दै जाँदा शुक्रबार धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। बिहीबार बेलुकादेखि सुरु हुने वर्षा शुक्रबार रातिसम्म अझ सक्रिय हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार शुक्रबार बिहान र दिउँसोभन्दा रातिको समयमा बढी पानी पर्ने सम्भावना देखिएको छ।
केही मौसमविदहरूले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने संकेत गरेका छन्। मौसमविद विनोद पोखरेलले पनि सामाजिक सञ्जालमार्फत बिहीबार बेलुकादेखि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्मका धेरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेका छन्।

यद्यपि, जल तथा मौसम विज्ञान विभागको आधिकारिक पूर्वानुमानमा भने अहिलेसम्म भारी वर्षाबारे स्पष्ट उल्लेख गरिएको छैन।
वर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।
