
प्रभुनाथ गुप्ता , कपिलवस्तु , कार्तिक २८
नेपाल कृषि प्रधान देश भएपनि यहाँका कृषकहरु बर्सेनि मलखाद खरिद र अन्नबाली बिक्रि प्रक्रियामा धेरै दुख अनि नोक्सानी बेहोर्न बाध्य छन् ।
यस आर्थिक बर्षमा बेमौसमी बर्षाका कारण कृषकहरुको धान खेती एक चौथाइ नस्ट भएको छ । अहिले किसानले आफ्नो अन्नबाली सरकारले तोकेको दर भन्दा २५% कम पाएर बिचौलियालाई बेच्न बाध्य छन् भने रासायनिक मलखाद सरकारले तोकेको दर भन्दा ३५% बढी रकम तिरेर किन्न परेको छ । सोही समस्या निरन्तरता पाउदै कपिलवस्तुको शुद्धोधन गाउँपालिमा वर्ष पनि मलखाद्यको अभावमा कृषकहरू पीडित बन्न पुगेका छन् ।
हालै बेमौसमी बर्षाले धानबाली नष्ट भइ किसानले भारी नोक्सानी बेहोरेको सबैलाई जानकारी नै छ । अब गहुँ , तोरी , मटरको खेतीको लागि मलखाद्य नपाउदा किसान थप पीडित बन्न पुगेका छन् । सरकारी दर रेट अनुसार युरिया रु.८५० र डिएपी रु.२३५० पाउनुपर्ने तर स्थानीय बजारमा भने युरिया रु.१४०० र डिएपी रु.३४०० मा बिक्रीवितरण भइरहेको पाइएको छ । खासमा नेपाल सरकारले उपलब्ध गराउने गरेको रासायनिक मल समयमा चाहिए जति उपलब्ध नभइ दिदा भएको मलको कालोबजारी भए संगै बजारमा भएका मलको दाम महगिएको छ । महगो दाममा मल किन्दा पनि सहज रुपमा चाहिए जति उपलब्ध छैन । हाल किसानहरु भारतीय मलको भरमा बिउ छर्न बाध्य भएका छन् ।
मलखाद्य महँगो भएपछि स्थानीय कृषकहरू छिमेकी राष्ट्र भारतबाट मल ल्याउन बाध्य भएका छन् ।

यसै समस्यालाइ मध्यनजर गर्दै शुद्धोधन गाउँपालिकाका किसानहरू द्वारा स्थानीय निकाय सँग रासायनिक मल र बिउ बिजन लगायतको सहज रुपमा उचित मुल्यमा उपलब्ध गराउन माग गरेका छन् । किसानहरुको समुहले पालिकामा ज्ञापन पत्र दिदै समयमा किसानका पिडालाइ समाधान नगरे किसानहरुले शान्तिपूर्ण आन्दोलन गर्न बाध्य हुने समेत बताएका छन् ।
यसैगरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले तत्कालै कालो बजारी रोक्न सम्बन्धित स्थानीय निकायहरुलाइ पत्र पठाउन पालिका कृषि शाखा प्रमुख राजेश कुमार चौधरीलाई निर्देशन दिइएको बताएका छन् भने कृषि शाखा प्रमुख चौधरीले चाडैं मल सहज रुपमा उपलब्ध हुने आश्वासन दिएका थिए ।
